दोलखा जिल्लामा पर्ने चिलंखाका खड्काहरूलाई त्यहाँ उनीहरूको बसोबासबारे सोधनी गर्दा यस्तो जवाफ पाइन्छ –“हामी पुँवार खड्काहरूको पुर्खा उज्जैनको धारा नगरबाट आएका हुन् । यहाँ चाँहि हामी पश्चिमबाट आएका हौँ ।”
चिलंखाका पुँवार खड्काहरूको वंशावलीमा यिनीहरूको उत्पत्तिको वर्णन यसरी गरेको पाइन्छ– ऋषि वशिष्ठ एक समय उज्जैनको वनमा तपस्यागरी बसेका थिए । एक दिन राजा विश्वामित्र त्यही वनमा शिकार खेल्न जाँदा रात परेकाले ऋषि वशिष्ठकै आश्रममा बास बसे । त्यहाँ वशिष्ठको नन्दिनी नामक एक गाई थिइन् । त्यस रात राजालाई जे जस्तो प्रकारका भोजनहरू चाहिन्थ्यो ती सबै तिनै गाईको दूधको माध्यमबाट तयार पारिएकोे देखि राजा विश्वामित्रले भोलिपल्ट ऋषिसँग ती गाई आफूलाई दिनुहोस् भनी मागे । तर धेरै अनुरोध गर्दा पनि ऋषिले दिन नमाने पछि राजाले बलपूर्वक भए पनि ती गाईलाई आफूकहाँ लैजाने अठोट गरेर आफ्ना सेनालाई ती गाईको हरण गर्ने आदेश दिए । जब राजाका सेनाले आफूलाई ऋषिको आश्रमबाट अपहरण गर्न लागेका थिए, त्यसै बखत ती गाईले क्रोधपूर्वक ठूलो शब्द निकालिन्, फलस्वरुप उनको अंग प्रत्यङ्गबाट अनेक योद्धाहरू प्रकट भए र ती गाईलाई अपहरण गरिनबाट जोगाई दिए । त्यस प्रकार गाईको अंगप्रत्यङ्गबाट प्रकट भएका योद्धाहरू मध्ये गाईको पौन (फुँकार) बाट पँुवार (परमार) हरु प्रकट भएका थिए । कालान्तरमा यही वंशमा जगदेवको जन्म भएको थियो भन्ने समेतका कुराहरु पनि उल्लेख भएको छ ।