१. बिषय प्रवेश
नेपाल वहुजातीय, वहुभाषिक, वहुसांस्कृतिक, वहुधार्मिक र जैविक विविधतायुक्त मुलुक हो । वि.सं. २०५८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्या २,३१,५१,४२३ रहेको देखिन्छ । जसमध्ये १,१५,६३,९ २१ पुरुष छन् भने १,१५, ८७,५०२ महिला छन् । कूल २,३१,५१,४२३ जनसंख्यामा रहेका नेपालीको जम्मा परिवार संख्या ४२,५३,२२० रहेको छ त्यस मध्ये कूल क्षेत्रफलको १५% ओगटेको हिमाली क्षेत्रमा ३,१९,८८७, ६८% क्षेत्रफल ओगटेको पहाडी क्षेत्रमा १९,८२,७५३; र १७% क्षेत्रफल ओगटेको तराईमा १९,५०,५८० परिवार बसोबास गर्दछन् ।
नेपालको उद्गमको हिसाबले आर्य, मंगोल, आष्ट्रिक र द्रविड गरी चार नश्ल समूह अन्तर्गतका जातीय समूहहरु देशका विभिन्न भागमा बसोबास गर्दछन् । नेपालको पछिल्लो जनगणना अनुसार भाषागत हिसाबले यहाँ भारोपेली, भोटबर्मेली, आष्ट्रिक, द्रविड गरी चार भाषा परिवारका ९२ वटा भाषा बोल्ने १०१ जातीय समूहहरु रहेका छन् । धार्मिक हिसाबले हिन्दू, बौद्ध, इस्लाम, किराँत, जैन, शिख लगायत १० वटा धर्मिक सम्प्रदायका मानिसहरु नेपालमा बसोवास गर्छन ।
जाति समूहका रूपमा रहेका क्षेत्री, वाहुन, ठकुरी र सन्यासीहरुको संख्या कूल जनसंख्याको ३०.८९% रहेको छ । विभिन्न पेशामा विभक्त पहाडी दलितहरुको जनसंख्या ७.११% रहेको छ । पहाडी समुदायका २८ जाति समूहमा विभाजित जनजातिहरुको जनसंख्या २७.५२% रहेको छ । मधेशी जाति समूहमा ३० वटा जाति समूहहर रहेका छन् र तिनीहरु कूल जनसंख्याको १५.२४% छन् । मधेशी दलितका रूपमा ११ समुदाय रहेका छन् र उनीहरुको कूल जनसंख्या ३.९८% रहेको छ । यसरी नै मधेशी जनजातिको रुपमा १५ समुदाय रहेका छन् र तिनीहरुको कूल जनसंख्या १२.३८% रहेको छ । पहिचान हुन नसकेका पहाडी र मधेशी जाति जनजाति र दलितको संख्या १.७८% रहेको छ ।
विगतमा आदिबासी जनजाति समुदायले निरंकुश र केन्द्रीकृत व्यवस्थाका कारणले आफ्नो हक र अधिकारको प्रजातान्त्रिक प्रणालीभित्र रहेर प्रभावकारी अभ्यास गर्न पाएनन् । जसले गर्दा सांस्कृतिक विविधताका बाबजुद पनि विविध संस्कृतिहरू मौलाउन सकेनन् । अझ दलितहरूमाथि सामाजिक र कानूनी विभेदहरू चर्को रूपमा रहिरहे । फलस्वरूप केन्द्रीकृत र एकात्मक राज्य संरचनामाथि नै जात–जाति, भाषा–भाषिहरुको अविश्वास पैदा भयो । परिणामतः उनीहरु केन्द्रीकृत र एकात्मक राज्य सत्ताको विरुद्ध आफ्नो जातीय, भाषिक, सांस्कृतिक तथा क्षेत्रीय अधिकारको संरक्षणका लागि आन्दोलित हुन पुगे ।